Dec 27, 2023

संकटमा पर्दैछन् नदीनाला
Setopati

विद्यालयका पाठ्यक्रम र सामान्य ज्ञानका किताबमा नेपाल जलस्रोतको दोस्रो धनी देश भन्ने गरे पनि वास्तवमा दोस्रो नभएर जलसम्पदामा विश्वमा धनी देशभित्र पर्छ।

नेपालमा छ हजारभन्दा बढी साना-ठूला नदीनाला छन्। जलसम्पदा नेपालको सबैभन्दा ठूलो र महत्वपूर्ण प्राकृतिक स्रोत हो र यसले कूल ग्राहस्थ उत्पादनमा महत्वपूर्ण हिस्सा ओगटेको छ।

नेपालमा पानीको मुख्य स्रोतको रुपमा वर्षात्, हिमनदी, नदी र भूमिगत जललाई लिन सकिन्छ।

हिमाली श्रृंखलाले दक्षिण एशियाको जलवायुमा प्रभाव पार्ने र गंगाका मैदानलाई सिँचित गर्ने र यस क्षेत्रका नदीलाई पानी पुर्‍याएको छ।

नेपालमा एक हजार वर्गमिटरभन्दा ठूला जलाधार भएका नदीको संख्या ३३ रहेको छ। नेपालका कुल नदीमध्ये करिब ८० प्रतिशत नदीहरु कोशी, गण्डकी र कर्णालीमा नै मिसिएका छन्।

नेपालबाट बगेर जाने नदीले भारतको गंगा नदीमा सुख्खा याममा ६५ प्रतिशत पानीको योगदान दिने गर्दछ। नेपालका नदीको उद्गम स्थल मुख्यतः हिमालय क्षेत्र हो।

यी नदीहरुले खानेपानी, सिंचाइ, जलविद्युतलगायत जीविकोपार्जनमा महत्वपूर्ण भूमिका खेल्नुका साथै सांस्कृतिक र पारिस्थितीय प्रणालीमा पनि उल्लेखनीय योगदान पुर्‍याएका छन्।

प्रतिव्यक्ति पानीको उपलब्धता दक्षिण एशियामा भुटानपछि दोस्रो स्थानमा रहेको छ। सन् २०१५ को विश्व खाद्य संगठनको तथ्याङ्कअनुसार पानीको उपलब्धता प्रतिव्यक्ति वार्षिक ७१३० घनमिटर रहेको छ।

प्रतिव्यक्ति वार्षिक पानीको उपलब्धता हेर्दा भुटान १,०३,४४८ घनमिटर, भारत १,१५५ घनमिटर, बङ्गलादेश ६७१ घनमिटर, माल्दिभ्स ८७ घनमिटर, श्रीलङ्का २,४८२ घनमिटर र अफगानिस्तान १,५४३ घनमिटर छ।

सन् २०५० मा नेपालको प्रतिव्यक्ति पानीको उपलब्धता ३,८७३ घनमिटर रहने अनुमान गरिएको छ।

सहज जिविकोपार्जनको लागि प्रतिव्यक्ति पानीको उपलब्धता दुई हजार घनमिटरभन्दा माथि हुनुपर्दछ भने १७०० भन्दा कम भए कठिन र एक हजारभन्दा कम भए निकै कष्टपूर्ण रहने गर्दछ।