Dec 27, 2023

किन उच्च राजनीतिक प्राथमिकतामा
पर्नुपर्छ वातावरणका मुद्दा ?
Himal Khabar

नेपालको लामो राजनीतिक संक्रमणमा वातावरण संरक्षणको क्षेत्रमा अत्यन्त कम ध्यान दिइएको छ। जनस्वास्थ्यका लागि समेत गम्भीर चुनौती बनेको वातावरण प्रदूषणलाई हामीले उच्च प्राथमिकताको राजनीतिक अजेन्डा बनाउनु आवश्यक भइसकेको छ।  

काठमाडौं उपत्यकाको वायु प्रदूषण चिन्ताजनक तहमा पुगेकोले गएको १७-२० चैतमा चार दिन यहाँका सबै शिक्षण संस्था बन्द गरिए।  

चैतका केही दिन एक्यूआई (एअर क्‍वालिटी इन्डेक्स) स्केलमा उपत्यकाको प्रदुषण अधिकतम मात्रा भन्दा पनि नाघेको थियो। 
\
विश्व स्वास्थ्य सङ्गठनले काठमाडौं, कराँची, नयाँ दिल्ली र बेइजिङलाई विश्वकै सर्वाधिक प्रदूषित शहरमा गणना गर्‍याे। 

पीएम २.५ को घनत्वअनुसार सन् २०२० मा विश्वकै १२ औं प्रदुषित मुलुक बन्यो नेपाल।  

‘पोलुसन इन काठमान्डू’ भनेर गुगलमा खोज्ने हो भने ‘प्रदुषणका कारण बस्न अयोग्य स्थान’ भन्नेसम्मका समाचार र सामग्रीका लिङ्क पाइन्छ। 

यो आलेखकी एक लेखक एलिशा दाहाल वर्षदिन अघि जन्मिएका जम्ल्याहा बच्चाकी आमा हुन्। उनलाई आफ्ना कलिला बच्चाले सास फेर्ने काठमाडौंको वायुको गुणस्तर सम्झेर उकुसमुकुस हुन्छ। चैतमा काठमाडौंको वायु प्रदूषण अधिकतम भएको समयलाई उनी दुःस्वप्न सम्झेर बिर्सिन चाहन्छिन्, तर यथार्थ अवस्थाले बारम्बार चिमोटिरहन्छ। हालै काठमाडौंमा प्रदूषण बढेका वेला उनले बच्चाहरूलाई खोकी लागेर चिकित्सककहाँ लैजाँदा यस्तै समस्या भएका अरू धेरै बालबालिका पनि ल्याइएका देखेकी थिइन्। 

गएको वर्ष चैत महीनाभरि र यो वर्ष वैशाख पहिलो साता काठमाडौं उपत्यका र नेपालका अन्य भागमा वायु प्रदूषण निकै उच्च रह्यो। हेटौंडा, धनगढीजस्ता शहरमा मात्र होइन, मुगुको रारा ताल क्षेत्रमा समेत प्रदूषणको मात्रा उच्च थियो। एक्यूआई (एअर क्‍वालिटी इन्डेक्स) का आधारमा काठमाडौं उपत्यका धेरै दिन विश्वको सबैभन्दा प्रदूषित शहर बन्यो।

वैशाख पहिलो सातादेखि पानी पर्न थालेको र अहिले कोरानाको दोस्रो लहर नियन्त्रण गर्न जारी निषेधाज्ञाका कारण सवारीसाधन, उद्योगधन्दा र विकास-निर्माणका काम कम चलेका भए पनि प्रदूषण उच्च मात्रामै छ।  वायु प्रदूषण मात्र होइन, नेपालमा जल र भू-प्रदूषणको मात्रा पनि नपत्याउँदो गरी उच्च छ।